मैले गरेको काम मात्र देखाएर ओली सरकारले जस लिन खोजेको छ : सभापति देउवा

काठमाडौ । समयसमयमा सरकार विरद्ध बोल्दै आउँनु भएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकारमाथि गम्भीर आरोप लगाउँनु भएको छ ।

उहाँले अहिलेको सरकार कुहिरोमा हराएको कागको नियतिबाट बाहिर निस्केर सही मार्गमा अघि बढ्न नसकेको बताउनु भएको छ । सोमबार संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै उहाँले संविधानको मार्गदर्शन र आफूले गरेको प्रतिबद्धताअनुसार काम गरेर देखाउन सरकारलाई सुझाव दिनुभएको छ ।

विकास निर्माण भन्दा पनि शक्ति संचय गर्ने गलत अभ्यासमा प्रधानमन्त्री लागेको उहाँले आरोप समेत्त लगाउँनु भएको छ । उहाँले संविधानविपरीत संवैधानिक अंगका अधिकार केन्द्रिकृत गर्ने प्रधानमन्त्रीको प्रयास सरकारकै लागि पनि प्रत्युत्पादक हुने चेतावनी दिनुभयो । नेता देउवाले बालुवाटारको सरकारी जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको तथ्य सार्वजनिक हुँदा पनि सरकार ढाकछोप गर्न लागिरहेको दाबी गर्नुभयो ।

उहाँले गल्ती, कमिकमजोरी सुधार गरेर अघि बढ्ने संकल्प गर्नुको सट्टा संविधानले स्थापित गरेको संघीय, लोकतान्त्रिक, गणतन्त्र र समावेशिताका संरचनालाई भत्काउनेतर्फ सरकारको क्रियाकलाप केन्द्रित भए त्यसको पार्टीले शसक्त प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

विगतका सरकारले सम्पन्न गरेका योजनाहरु उद्घाटन गरेर आफैले सम्पन्न गरेको हुँ भनि झुट प्रचार गर्नबाहेक सरकारले उल्लेखनीय काम गर्न नसकेको टिप्पणी नेता देउवाले गर्नुभयो ।
source:janaboli.