कल्पना नगरेको काम सरकारले गरेको छ, राम्रो काम गर्न थालेपछि राजपा बाहिरिए: प्रम ओली

काठमाडौं। प्रधानमन्त्री खड्ग प्रसाद ओलीले इतिहासमा कसैले कल्पना नगरेको काम अहिलेको सरकारले गरेको बताएका छन् ।

मजदुर दिवसको अवसरमा संयुक्त ट्रेड युनियन संघले काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, “विगतका सरकारले कल्पना नगरेको काम भएको छ। यो एक वर्षमा मानिस विदेश गएका हुन् र ? मैले गरिब बनाएको हो र ?” नयाँ प्रणाली भएकाले केही समस्या भएको उनको भनाइ थियो ।

सरकारले राम्रो काम गर्न थालेपछि राजपाले समर्थन फिर्ता लिएको आरोप उनले लगाए । सरकारलाई समर्थन फिर्ता गर्ने होइन, समर्थन गर्न उनले आग्रह गरे ।

“राजेन्द्र महतोलाई सोध्न चाहन्छु– सीमाना नाका बन्द गरेर मुलुक बन्छ ? इन्धन बन्द गरेर, नागरिकलाई दुःख दिएर मुलुक बन्छ ?” जायजलाई जायज भन्न नसक्ने, आलोचना गर्ने रोग केहीलाई लागेको उनले बताए ।
source:sidhanepal