पाँचथर हत्याकाण्डको अर्को रहस्य : झुण्डिएको भेटिएका व्यक्ति बमबहादुरकै कान्छो ज्वाइँ !

जेठ ७, २०७६

काठमाडौं –पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ मा एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत भेटिएका व्यक्ति पाँचथर– ३ आरुबोटेमा गएराति विभत्स हत्या गरिएका बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिम रहेको खुलेको छ ।
ADVERTISEMENT

बमबहादुरकी कान्छी छोरी मनकुमारी फियाकको विवाह मानबहादुरसँग भएको थियो ।

मिक्लाजुङ– ३ का वडा सदस्य जप्रसाद फियाकका अनुसार मानबहादुर र मनकुमारीको सम्बन्ध पछिल्लो समय राम्रो थिएन । मनकुमारी माइती घरमा नै थिइन् ।

बुवाआमासँगै उनको पनि गएराति नै हत्या भएको छ ।

‘उनीहरूको पछिल्लो समय मेलमिलाप थिएन, खटपट भएको कुरा आएको थियो,’ वडासदस्य फियाकले भने, ‘मानबहादुर पनि मृत भेटिएका छन्, प्रहरी घटनास्थलतर्फ गएको छ ।’

सीमाना जोडिएका वडा नम्बर ३ र ७ मा भएका यी दुई घटना अन्तरसम्बन्धित हुन सक्ने देखिएको छ ।

गएराति अज्ञात समूहले मिक्लाजुङ ३ का बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका ९ सदस्यको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको थियो ।

lokantar बाट साभार