सडकमा राखेको बम निष्क्रिय पारियो

बैतडी : महाकाली राजमार्ग अन्तर्गत सतबाँझ गोकुलेश्वर सडकखण्डको धरमघरमा राखिएको बम निष्क्रिय पारिएको छ । सडकको बीचमा राखेको बम नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

सडकमा बम राखेको खबर पाएपछि मंगलबार बिहानै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली धरमघर पुगेको थियो । मंगलबार बिहान दुई बजेतिर सडकमा बम राखेको खबर प्रहरीलाई प्राप्त भएको थियो । राति हिडेका यात्रुले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । सडकमा बम भएका कारण रोकिएका सवारी साधनहरुलाई स्कटिङ गरेर गन्तव्यमा पुर्याइने काम भइरहेको प्रहरी निरीक्षक पातलीले बताए ।

बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बम राखेको प्रहरीको भनाइ छ ।

 

अन्नपुर्ण पोस्ट बाट साभार